
काठमाडौ। पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश जनताको हित हुने पक्षमा संविधान संशोधन हुनुपर्ने बताएका छन् । भक्तपुरको बालकोटस्थित आफ्नै निवासममा रिपोर्टर्स क्लवको देउसी–भैलो टोलीसँग कुराकानी गर्दै उनले भने – “राष्ट्र र जनताको हित हुने गरी गर्ने सकरात्मक संशोधनका पक्षमा एमाले रहेको छ ।”
अध्यक्ष ओलीले सत्ता प्राप्तिका लागि हुने संविधान संशोधनमा एमालेले साथ दिन नसक्ने बताउँदै कुनै प्रकारको दबाब र प्रयासबाट देशलाई नै अहित हुने गरी संविधान संशोधन हुन नसक्ने विचार व्यक्त गरे ।
यद्यपी, संविधान गतिशिल र परिवर्तनशील दस्तावेद भएकाले देशलाई आवश्यक परे संशोधन गर्न सकिने बताउँदै उनले भने– “दलहरु मिलेर अघि बढेमा तीन वर्षमा नै देश समृद्ध हुन सक्छ, तर त्यसका लागि दलहरुबीच उच्चस्तरको समझदारी हुन जरुरी छ, जात जात र क्षेत्रका नाममा हाम्रो विविधतालाई फुटाएर हुँदैन ।”
यता नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कात्तिकभित्रै संविधान संशोधनको प्रस्ताव दर्ता हुने बताएका छन् ।
उनको निवास बोहोराटारमा रिपोर्टर्स क्लवको देउसी–भैलो टोलीसँग कुराकानी गर्दै पौडेलले भने – संविधान संशोधन गरेर मधेसवादी दललाई सहमतिमा ल्याउने तयारीमा वर्तमान गठबन्धन लागेको छ ।
नेता पौडेलले मधेसी मोर्चाले भने बमोजिम प्रदेशको सिमाङ्कन, भाषा विबाद, नागरिकताको सवाल, राष्ट्रिय सभाको स्वरुप लगायतका विषयमा दुवै पक्षवीच समझदारीकासाथ अघि बढ्ने सहमति भएको पनि बताए ।
उनले संविधान संशोधनका लागि एमाले पनि सहमतिमा आउने विश्वास व्यक्त गर्दै भने – मुलुकको समस्या समाधानका लागि दलहरु मिल्नुको विकल्प छैन् ।
प्रकाशित मितिः २०७३ कार्तिक १६
वि.सं.२०७३ कात्तिक १६ मंगलवार ०८:०२ मा प्रकाशित