
कञ्चनपुर । छब्बीस वर्षीय हरेन्द्र बोहरा काठमाडौँको शङ्करदेव क्याम्पसबाट स्नातकोत्तर पढाइ सकेर दुई वर्षअघि घर फर्किए। ५८ प्रतिशतभन्दा बढी अङ्क ल्याएर स्नातकोत्तर गरेका बोहरा घर फर्किएर कृषिलाई व्यावसायिक बनाए।
कञ्चनपुरको कृष्णपुर नगरपालिका– ४ मौवाफाँटाका बोहरा अहिले दूध बिक्रीबाट मासिक ७० हजार रुपैयाँ कमाउँछन्। यसका साथै, उनले भैँसीपालन, केराखेती, बाख्रापालन, माछापालन र आँपखेती गरिरहेका छन्। बोहराले दुई बिगाहा खेतमा केराखेती, १५ कठ्ठामा माछापालन, १४ वटा भैँसी, आठ वटा बाख्रा तथा आँपखेती गरिरहेका छन्।
बोहराले दुग्ध विकास संस्थानलाई दैनिक ६० लिटर दूध बेच्छन्। “मेरो व्यवसायलाई घर परिवारका सदस्यले पनि साथ दिँदै आएका छन्छ,”उनले भने। उनले सुरुवातमा ४० लाख रुपैयाँ लगानी गरेका थिए।
कुखुरापालन र बाख्रापालनमा लगानी बढाउने उनको योजना छ । प्रवीणता प्रमाणपत्र तहसम्म स्थानीय कृषि उच्च मावि तथा स्नातक तहको अध्ययन धनगढीको कैलाली बहुमुखी क्याम्पसमा गरेका बोहराले अध्ययनका क्रममा आर्थिक अभाव झेल्नुपरेको थियो ।
“पढेलेखेको छोरो राम्रै जागिरतिर लाग्ला भन्ने परिवारको सोच थियो होला,” उनले भने – “हामी किसानका छोरा हौं । कृषिमै केही गर्नुपर्छ भन्ने लागेर व्यवसायमा हात हालेको हुँ।” उनले भैँसीको गोबर सोर्नेदेखि दैनिक अत्तरिया बजारसम्म दूध बिक्री गर्ने कार्य आफैले गर्दै आएका छन्। “व्यवसायको दायरा बढाउँदै अन्य युवालाई रोजगारी दिने सोच समेत बनाएको छु,” बोहराले भने। “अरुको नौकरी गर्नुभन्दा आफ्नै व्यवसाय अङ्गाल्नु राम्रो,” उनले भने।
१६ मंसिर २०७३, ३।४०
वि.सं.२०७३ मंसिर १६ बिहीवार १६:०८ मा प्रकाशित