
म्याग्दी । जिल्लामा यातायात सिन्डिकेट हटेपछि यात्रुलाई सहज भएको छ। यातायात सेवामा नयाँ व्यवसायी प्रवेश गरेसँगै एकाधिकार र आलोपालो प्रथा (सिन्डीकेट)को प्रभाव घटेको हो।
अहिले यात्रुले चाहेको बेला रोजेको गाडीमा चढ्न पाएका छन्। यसअघि एउटै मात्र समितिको गाडी हुँदा जीर्ण र साँघुरा बसमा कोचिएर यात्रा गर्नु बाध्यता थियो । बेनीदेखि पोखरा, काठमाडौँ लगायत लामो दूरीका साथै बेनी–दरवाङ, बेनी–जोमसोम सडकमा पनि ब्यवसायीबीच प्रतिस्पर्धा हुन थालेको छ ।
बेनी–जोमसोम सडकमा अन्य ठाउँबाट आउने सार्वजनिक, निजी र पर्यटक गाडीलाई विगतमा जस्तो अवरोध छैन। २४ किलोमिटर लामो बेनी–दरवाङ सडकमा आइतबारदेखि पश्चिम म्याग्दी यातायात सेवा प्रालिले जिप चलाउन थालेको छ। उक्त रुटमा यसअघि म्याग्दी जिप तथा बस सञ्चालक समिति र म्याग्दी ट्याक्सी व्यवसायी समितिको मात्र एकाधिकार थियो।
२० मंसिर २०७३, ११।००
वि.सं.२०७३ मंसिर २० सोमवार १८:०३ मा प्रकाशित