काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बुधबार तोलामा ८ सय रुपैयाँ बढेको छ ।
आज सुन तोलाको ९३ हजार १ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै बुधबार चाँदी पनि तोलामा ३० रुपैयाँ बढेको छ । चाँदी बुधबार तोलाको १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाली बजारमा मंसिर महिनाभर सुनको भाउ प्रतितोला २८ सय रुपैयाँले घटेको छ । मंसिर ३ गते तोलाको ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य अन्तिम दिन तोलाको ९२ हजार ३ सय रुपैयाँमा झरेको हो ।
मंसिर महिनाको सुरुदेखि नै ओरालो लागेको सुनको मूल्य १५ गते तोलाको ९० हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसयता विस्तारै उकालो लागेको सुनको मूल्य २३ गते ९४ हजार १ सय रुपैयाँ पुग्यो । तर फेरि ओरालो लाग्ने क्रममा रहेको सुनको मूल्य मंगलबार ९२ हजार ३ सय रुपैयाँमा झरेको हो ।
विश्वव्यापी फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप बनेको खबर सार्वजनिक भएपछि सुनचाँदीको मूल्य घट्न थालेको हो ।
वि.सं.२०७७ पुस १ बुधवार ११:१३ मा प्रकाशित